महासंघ र लिन्यी ट्रेड सिटीबीच सम्झौता
2018-03-17
114
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र चीनको लिन्यी ट्रेड सिटी एड्मिनिस्ट्रेटिभ कमिटीबीच आर्थिक व्यावसायिक क्षेत्रमा सहकार्य गर्ने गरी सम्झौता भएको छ । महासंघका कार्यकारिणी समितिका सदस्यहरू, चिनीया“ उद्यमी व्यावसायीहरू, महासंघका महासचिव सुरेशमान श्रेष्ठलगायतको उपस्थितिमा महासंघकी अध्यक्ष भवानी राणा र लिन्यी सिटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे ।
चिनीयाँ प्रतिनिधिमण्डल बिहीबारदेखि काठमाडौंमा सुुरु हुने नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०१८ मा भाग लिन नेपाल आएको हो । उक्त सम्झौतापत्रमा दुई देशबीचको आर्थिक व्यावसायिक विस्तारमा दुवै संस्थाले सहकार्य गर्ने, सहकार्यका सम्भाव्य क्षेत्रहरू पहिचान गर्ने, लगानीका क्षेत्रहरू विस्तार गर्ने उल्लेख गरिएको छ । त्यस्तै, व्यावसायिक भ्रमणको आदानप्रदान गर्ने, दुवै देशमा व्यापार मेलालगायतका प्रवद्र्धनात्मक कार्यक्रमहरू आयोजना गर्ने, लिन्यी सिटीबाट नेपालमा व्यापार, लगानी, प्रविधि, सीप आकर्षणका लागि सहकार्य गर्ने विषयमा सम्झौता भएको महासंघले जनाएको छ ।
महासंघ सचिवालयमा आयोजित हस्ताक्षर कार्यक्रममा अध्यक्ष राणाले अन्तर्राष्ट्रिय व्यापार मेलाको माध्यमबाट नेपालमा रहेका सम्भावनाहरूको खोजी गरी सहकार्यको हात अगाडि बढाउन ढोका खुलेको बताइन् । साथै उनले नेपाल आएको चिनिया“ प्रतिनिधि मण्डललाई नेपालमा लगानीका क्षेत्रहरूका बारेमा जानकारीसमेत गराइन् । त्यस्तै, प्रतिनिधि मण्डलका टोली नेता लिन्यी सीटी सिपिपिसिसीका उपाध्यक्ष ली चोङताओ ले आफू व्यावसायिक सम्भाव्यता खोजीका लागि पहिलोपटक नेपाल भ्रमणमा आएको बताए ।